Breaking News

भक्तपुरमा सवारीे दुर्घटनाः एकको मृत्यु, ३ घाईते

भक्तपुर, ९ साउन । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत मध्यपुरथिमि नगरपालिका ४ चारदोबाटो चोकमा काठमाडौंबाट तीब्र गतिमा भक्तपुरतर्फ आईरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाईडरमा ठोक्किंदा कार चालक सिन्धुली घर भई हाल सुर्यबिनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारमा सवार रमेशराजका १८ वर्षीय छोरा रबिन राउतको भने घाईते अवस्थामा मध्यपुर अस्पताल ठिमीमा उपचार भैरहेको छ । कार पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

सोही समयमा एकै दिशाबाट आईरहेको बा ४६ प १५५२ नम्बरको मोटर साईकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिंदा मोटरसाईकल चालक रामेछाप खाँडादेबीका ३१ वर्षीय बिष्णु बहादुर श्रेष्ठ र मोटरसाईकलको पछाडि बस्ने रामेछाप घर भएका वर्ष ३३ का राजन श्रेष्ठसमेत घाईते भएको र घाईते दुवैको नागरिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कार चालक रमेशले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा कार अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किएको र कार ठोक्किएर फर्किंदा मोटरसाईकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

shares