Breaking News

बन्धक बनाइएका १४ नेपाली श्रमिकको साउदीबाट उद्धार

काठमाण्डौ, ८ साउन । रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाइएका १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

उनीहरूलाई साउदीस्थित नेपाली दुतावास र केही नेपाली समाजसेवीको पहलमा उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको हो । दुई वर्षको वर्क पर्मिटमा साउदी पुगेका उनीहरूलाई तोकेको अवधि सकिएपनि कामदार कम्पनीले बन्धक बनाई काम गराइरहेको थियो ।

उद्धार गरी स्वदेश फर्किएकाहरूमा धनकुटा निवासी राजन पुवार मगर, धनकुटाकै ढकेश बस्नेत, डडेलधुराका गंगाराम पनेरु, महोत्तरीका सञ्जिव चमार, अनिल शाह र वीरेन्द्र महतो, नुवाकोटका राज तामाङ र बुद्ध तामाङ्, सल्यानका भरत गिरी र अशोक गिरी, लमजुङ्का देवराज अधिकारी, रौतहटका धीरेन्द्र शाहनी, सर्लाहीका राजीव शाह, र तनहुँका अञ्जन परियार छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा ती श्रमिक साउदी अरबस्थित मोसल्ट फाउण्डेसनमा काम गर्दै आइरहेको थिए । कम्पनीमा कुनैपनि सेवा सुविधा नभएको र बिरामी हुँदा उपचारका लागि कुनै चासो नदेखाएको स्वदेश फर्किएका टोलीका राज तामाङले बताए ।

उद्धार गरिएका १४ जनालाई नै बसुन्धरास्थित ग्लोबल राईजिङ् प्लेसमेन्टले श्रमिकहरूलाई साउदीको मोसल्ट फाउण्डेसन कम्पनीमा पठाएको बुझिएको छ ।

shares