Breaking News

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्धका उजुरीकर्तासंग संसदीय सुनुवाई समितिको छलफल

काठमाण्डौ, ८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका विरुद्ध परेका उजुरीको उजुरीकर्तासंग मंगलबार छलफल गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नामसहित उजुरी दिएका उजुरीकर्तासंग छलफल गरेको हो । प्रमाणसहित उजुरी परेको र बुधबार समिति बैठकमा उक्त उजुरीमाथि छलफल हुने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले बुधबार उजुरीमाथि छलफल सकिएपछि बिहीबार प्रस्तावित प्रधानन्यायाधीश जोशीको अन्तिम सुनुवाई गर्ने जानकारी दिए ।

बैठकपछि उजुरीकर्ता हिमाल पौडेलले दीपकराज जोशीको अन्तरिम आदेशका कारण राज्यलाई पाँच अर्बभन्दा बढी घाटा लागेको, क्यासिनो बेल्लिज (मल्ल होटल) बाट करोडौं लिएर सञ्चालन गर्न अन्तरिम आदेश दिएको भन्दै उजुरी दिएको बताए । त्यस्तै उजुरीकर्ता अधिवक्ता युवराज कोईरालाले देशका विभिन्न ठाउँका सरकारी खाली जग्गालाई व्यक्तिका नाउमा दर्ता गराउन सहयोग पुर्याएको भन्दै उजुरी दिएको बताए ।

जोशीविरुद्ध परेका पाँचवटै उजुरीमा सार्वजनिक जग्गा लाखौं रुपैयाँ घूस खाएर व्यक्तिकरण गरिएको आरोपसमेत लगाइएको छ । त्यस्तै सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण राज्यलाई ६१ अर्ब घाटा पुर्‍याउन सहयोग पुर्‍याएको उजुरीपनि जोशीमाथि छ । नारायण दाहालमार्फत चुणमणि शर्मालाई उन्मुक्ति दिने प्रयास गरेको उजुरी पनि समितिमा परेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो । त्यसको म्याद आइतबार सकिएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

shares