कांग्रेसमाथि प्रधानमन्त्री ओलीकाे हमला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसमाथि राजनीतिक फायर खोलेर काठमाडौंमा भेला भएका देशभरका कांग्रेसका नेता कार्यकर्तालाई तर्साउन खोज्नुभएको छ ।

देशभरबाट काठमाडौंमा भेला भएका कांग्रेस कार्यकर्तालाई प्रधानमन्त्रीले नेकपा र सरकारमाथि हुने हमलाको प्रतिकार गर्ने आफ्नो योजना सुनाउनु भएको छ ।

दुई अध्यक्षबीचको एकतालाई तोड्न  प्रयास भैरहेको तर्फ संकेत गर्दै देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाउनुभएकाे छ ।

मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गर्दै  प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टासमेत गर्नुभयाे ।

यस अघि प्रधानमन्त्रीले विपक्षीमाथि अरिंगाल बन्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । र अहिले प्रधानमन्त्री ओलीले कांग्रेसको गणतन्त्रमाथिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको बताउनुभयाे । उहाँले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयाे ।

सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक विवाद थप चर्किने संकेत देखिएको छ ।

shares