Breaking News

पाकिस्तान आम निर्वाचन: आत्मघाती विस्फोटमा ३१ जनाको मृत्यु

काठमाण्डौ, ९ साउन । पाकिस्तानमा आम निर्वाचन भइरहेको समय बलुचिस्तान प्रान्तको क्वेटा सहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।

शहरको पूर्वी बाइपास क्षेत्रस्थित मतदान केन्द्रमा भएको हमलामा प्रहरी अधिकारी र सर्वसाधारण मतदाताहरूको मृत्यु भएको बताइएको छ । हमलामा ३० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

क्वेटा शहरको प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार एक आत्मघाती हमलाकारीले तमिर-आइ-नाउ विद्यालयमा रहेको मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला गरेका थिए । हमलाकारीले प्रहरीको भ्यानलाई लक्षित गरी बम पड्काएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।

क्वेटाका एक स्थानीय अधिकारी हासिम घिजाइले भने, ‘आक्रमणकारी मतदान बुथमा छिर्न खोजिरहेका थिए जब प्रहरीले उनलाई रोक्यो त्यसपछि उनले बम पड्काए ।’

इस्लामिक स्टेट समूहले आफ्नो आधिकारिक न्यूज एजेन्सी अमाकमार्फत उक्त आत्मघाती हमलाको जिम्मेवारी लिएको छ ।

अन्य केही ठाउँहरूमा पनि पार्टी कार्यकर्ताहरूबीच विष्फोट र भीडन्त भएका छन् जसमा कैयौं घाइते भएका छन् भने २ जना मारिएका छन् । पूर्व पाकिस्तानी क्रिकेट स्टार इम्रान खान र सत्ताच्यूत गराइएका पूर्व प्रधानमन्त्री नवाज शरिफका पार्टी कार्यकर्ताहरूबीच तनाव उत्पन्न भएको हो ।

आम निर्वाचनमा सबैभन्दा संवेदनशील मानिएको बलुचिस्तान प्रान्तमा निर्वाचन अभियानको क्रममा यसअघि भएका विभिन्न आत्मघाती हमलामा १८० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

पाकिस्तान सरकारले निर्वाचनको सुरक्षाको लागि ३ लाख ७० हजार भन्दा धेरै सेना र ४ लाख ५० हजार भन्दा धेरै प्रहरी खटाएको जनाएको छ ।

shares