Breaking News

पाकिस्तानी सरसामानको मेला

 

काठमाडौँ, १७ असोज ः पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन ।

पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री सङ्गठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । 

सो अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत जावेदले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताउनुभयो । अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताउनुभयो । मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने वाणिज्य सङ्घका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताउनुभयो । मेला यही असोज २३ गतेसम्म जारी रहने छ । 

 

shares