‘परियोजना बैंक’ बनाउने तयारीमा कर्णाली प्रदेश सरकार

काठमाडाैं । कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो ।

परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने छ । प्रदेश योजना आयोगका अनुसार अहिले कार्ययोजना बन्दैछ । सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ ।

प्रारम्भिक सम्भाव्यताका आधारमा सम्भव हुने आयोजना मात्र परियोजना बैंकमा समावेश हुनेछन् । योजनाको किटानपछि प्रदेश सरकारले आगामी चैत मसान्तसम्म प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ ।

सम्मेलनमा प्रधानमन्त्री, सङ्घीय मन्त्री, विदेशी दातृ निकायका प्रमुख तथा प्रतिनिधि, लगानीकर्ता लगायतलाई आमन्त्रण गर्ने प्रदेश सरकारको तयारी छ । सम्मेलनमा जलस्रोत, जडीबुटी र पर्यटनको क्षेत्रमा स्वदेशी-विदेशी लगानीकर्तालाई लगानी गर्न आह्वान गरिने छ ।

सम्मेलनले कर्णालीमा बृहत लगानीका लागि मार्ग प्रशस्त गर्ने सरकारको अपेक्षा छ । यसअघि प्रदेश सरकारले वैदेशिक सहायता प्राप्ति र लगानी व्यवस्थापनका लागि विभिन्न १९ आयोजनाको सूची सङ्घीय सरकारसमक्ष पठाइसकेको थियो । सरकारले सडक, जलविद्युत्, सिमेन्ट कारखानादेखि पेट्रोलियम पदार्थको उत्खनन गर्नेसम्मका आयोजना पहिचान गरेको छ ।

shares