Breaking News

नेविसंघभित्रको विवाद चुलियो

काठमाण्डौ, ९ साउन । असन्तुष्ट पक्षले महाधिवशेनको मिति नै घोषणा गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको विवाद चुलिएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् भने महामन्त्री कुन्दन काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाएका छन् ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा महरले संगठनको विधानअनुसार काम गर्न कुन्दन काफ्लेको समूहलाई आग्रह गरे । उनले आफ्नो अध्यक्षतामा संगठनहरूलाई जीवित राखेर, खाली भएको स्थानमा मात्रै पत्र काटेर समिति निर्माण गर्न भनेको दाबी गरे ।

नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै भएको भन्दै उनले केन्द्रीय समितिको बैठक नबसी मनलाग्दी तरिकाले कुरा गरेर नहुने बताए । सभापति महरले संगठनको विधि अनुसार साउन २३ गते महाधिवेशन गर्नुपर्ने भएपनि अब तीन महिना समय थप गरेर गर्ने बताए । उनले समस्याको समाधान गर्न आफूहरू तयार रहेको जिकिर गरे ।

कार्यक्रममा नेविसंघका महामन्त्री काफ्लेले संघको नेतृत्वले संगठनलाई उचित रूपमा व्यवस्थापन गर्न नसकेको गम्भीर आरोप लगाए । संगठनको नेतृत्व अल्पमतमा रहेको भन्दै उनले संगठनको विधि र विधान अनुसार नेतृत्व अघि नबढेको दाबी गरे । संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर मिति घोषणा गरेको र पार्टीको निर्देशनलाई मध्यनजर गर्दै अघि बढ्ने उनको भनाइ छ ।

संस्थापन पक्ष एकलौटी ढंगले चलेको भन्दै असन्तुष्ट पक्षले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

shares