‘नेताहरु हनुमानले आफ्नो शक्ति बुझ्न नसके झै भए’ : रिमाल

मधुकर लुइटेल

काठमाडाैं । नेकपा स्थायी कमिटीका सदस्यहरुले सरकारको कार्यशैलीको पक्ष र विपक्षमा मत राखिरहेका छन् । स्थायी कमिटी वैठकमा पूर्व एमालेमा सक्रिय रहेको गुटगत संरचनाको झल्को जस्ताको तस्तै देखिएको छ । ओली इतरको गुटमा रहेका सदस्यले सरकारको कार्यशैलीको विरोधमा जमेर बोलिरहेका छन् भने ओलीको पक्षमा रहेकाहरुले सरकारको बचाउको कोशिश गरेका छन । मंसिर २९ गते देखि जारी रहेको नेकपा स्थायी कमिटी बैठकमा सहभागि नेताहरुको अभिव्यक्तिले त्यही पुष्टि गर्छ ।

सरकारको विपक्षमा बोल्तेहरुतर्फ संकेत गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहनु भएका स्थायी कमिटी सदस्य विष्णु रिमालले बिहीबारको बैठकमा सरकारको बचाउका लागि कडा मेहनत गर्नुभयाे । अहिले सरकारको गर्ने आलोचना गर्नु भनेको आत्मनिन्दक हुनु भएको र अहिले त्यसाे गर्ने समय नआएको उहाँकाे प्रतिवाद थियो । हनुमानले आफ्नो शक्ति बुझ्न नसके झै पार्टी नेताहरुले आफ्नो शक्ति नबुझेको रिमालको भनाइ थियाे । रिमालले याे शैली कुरा नेताहरुलाई मन नपरेको संकेत स्थायी समिति सदस्य योगेश भट्टराईको यो अभिव्यक्तिले नै पुष्टि गर्छ ।

नेकपा डिफ्याक्टाे प्रधानमन्त्रीका रुपमा बालुवाटारमा हावी भएकाे आरोप लागिरहेका रिमालले बैठकमा प्रस्तुत गरेको अभिव्यक्तिमा प्रधानमन्त्री स्वयंले जवाफ दिएको झल्को आउँथ्यो । बैठकमा सहभागी अरु नेताहरुका अनुसार रिमालको अभिव्यक्तिमा केही स्थायी कमिटी सदस्यहरुले असहमति जनाए । नेता रिमालले पार्टीमा पोलिटव्यूरो नै नचाहिने बताउनुभयाे ।

बैठकमा मन्त्रीद्वय चक्रपाणि खनाल र मातृकाप्रसाद यादवले सरकार रक्षात्मक हुँदा पार्टीले सहयोग गर्नुपर्ने धारणा राख्नु र प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका रिमालले सरकारको समीक्षा गर्ने समय नभएको भनेर प्रतिवाद गर्नुले सरकार निक्कै रक्षात्मक रहेछ भन्ने पुष्टि गर्छ । काम गर्न नसकेका मन्त्रीहरुलाई हटाउन र सक्षमलाई समेटेर मन्त्रीमण्डल पुर्नगठन गर्नुपर्ने सुझाव पनि बैठकमा नआएको होइन ।

बैठकमा सरकारको कार्यशैली प्रति पूर्व एमाले नेताहरु गरम र पूर्व माओवादी नेताहरु नरम रुपमा प्रस्तुत भएको पाइन्छ । नेकपाको बैठकमा देश, जनता र जनजीविकाको सवालका विषयभन्दा पनि आत्मकेन्द्रित र गुटगत प्रवृतिका विषयहरु बढि चर्चामा छन् । रक्षात्मक रुपमा रहेको नेकपा नेतृत्वको सरकार जनताको मुद्दामा आक्रामक बन्न बन्नु पर्छ नै । स्थायी कमिटीले विद्मान विमति पन्छाएर सहमतिको मार्ग खोजोस् भन्ने पार्टी नेता पंक्तिको अपेक्षा छ । तयसैले पनि सरकारको नेतृत्व गरिरहेको नेकपा र सरकारलाई मार्गनिर्देश गर्नुपर्ने यो बैठकलाई राजनीतिक महत्वका साथ हेरिएको छ ।

shares