नेकपा स्थायी कमिति बैठक बस्दै, अध्क्षद्वयबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा दुई अध्यक्षकाे संयुक्तरुपमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुँदैछ ।

केन्द्रीय कार्यालय धूम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकमा अध्यक्षद्वयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्ति प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्नेछन् ।

अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले तयार पारेकाे प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको छ ।

अस्तिकाे बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनको पूरकका रुपमा छुट्टै प्रतिवेदन पेश गर्नु भएकाे थियाे । गौतमले पेश गरेको प्रतिवेदनमाथि पनि छलफल हुने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

shares