धरहरा पुनर्निर्माण आजबाट सुरु

काठमाडाै‌ं । ऐतिहासिक धरहरा पुनर्निर्माण आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुहुने छ ।

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गर्नुभएको थियो । तर, पुनर्निर्माण सुरु हुन सकेको थिएन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा ‘जीआई ईटीसी रमन जेभी’लाई दिएको छ ।

भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउँमा पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगै‌ंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

shares