‘देश टुक्र्याउन खाेज्ने सिके राउतसँग वार्ता हुँदैन’ : सरकारी वार्ता टाेलीका संयाेजक

काठमाडाैं ।विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी वार्ता टोलीका संयोजक पाण्डेले सीके राउतको टोलीसँग छलफल नगर्ने बताएका छन् । अलग देशको माग राजनीतिक नभई विखण्डनकारी भएकाले उनीहरुसँग वार्ता सम्भव नभएको उनले बताए ।

भूमिगत समूहलाई मुलधारको राजनीतिमा ल्याउन गठित सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले चार महिनाको अवधिमा २४ समूहलाई भेटेको छ । तर, वार्ता गर्न खाेजिएकाे मुख्य शक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र जयकृष्ण गोइत  समूहबारे भने वार्ता टाेलिले भेटसमेत गर्न पाएकाे छैन् ।

सरकारी टोलीले वार्ताका लागि पत्र पठाउनुका साथै वरिष्ठ नेताहरुसँग अनौपचारिक छलफल गरेको थियो । तर, अहिलेसम्म न त पार्टीका महासचिव विप्लवसँग भेट हुन सकेको छ न सम्वाद सुरु हुने छाँटकाट देखिएको छ ।

सरकारले ८ भदौमा नेकपाका सांसद एवं पूर्वमन्त्री पाण्डेको नेतृत्वमा ‘राजनीतिक वार्ता टोली २०७५’ गठन गरेको थियो । टोली अहिले पूर्वमा आइपुगेको छ ।

चार महिनाको अवधीमा २४ वटा मात्र भूमिगत समूह भेटिएको संयोजक पाण्डेले बताए । यसअघि आनन्द ढुंगाना नेतृत्वको वार्ता टोलीले ९६ वटा ससत्र समुह रहेको निष्कर्ष निकालेको थियो । तर, दोस्रो संविधान सभाको निर्वाचनपछि घटेर ४५ वटामा भेटिएको र त्यसमध्ये २४ वटा अस्तीत्वमा रहेको उनको दाबी छ ।

१८ वटा समूहका करिब ६ सय जना नेता कार्यकर्ता विभिन्न जेलमा रहेको पाइएको छ ।

पाण्डे नेतृत्वको समितिको म्याद हालै मात्र १५ दिनका लागि थप भएको छ । असन्तुष्ट समूहसँग भएको वार्ता र उपलब्धीसहितको प्रतिवेदन चाँडै सरकारलाई बुझाउने पाण्डेले बताए । अहिलेसम्म विप्लवलाई पर्खिएको भन्दै उनले उनी नआए अध्ययन प्रतिवेदन बनाएर सरकारलाई बुझाउने बताए ।

shares