Breaking News

डा. केसी र सरकारबीचको वार्ता असफल

काठमाण्डौ, ९ साउन । अनशनरत डाक्टर गोविन्द केसीले उठाएका विभिन्न मागका विषयमा भएको सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीचको वार्ता असफल भएको छ ।

सिहदरबारस्थित शिक्षा मन्त्रालयमा बुधबार पटक-पटक भएको वार्ता दुवै पक्षबीच कुरा मिल्न नसक्दा असफल भएको हो । चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरूले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

वार्तापछि डाक्टर केसीका प्रतिनिधि अधिवक्ता सुरेन्द्र भण्डारीले सरकार अति नै असंवेदनशील भएकाले वार्ता सफल नभएको बताए । त्यस्तै सरकार डा. केसीका मागका विषयमा विषयगत रूपमा प्रवेश नै गर्न नचाहेको पनि उनले आरोप लगाए । आफूहरूले बुझाएको २२ बुँदामा प्रवेश नै हुन नसकेको उनको दाबी छ ।

वार्तापछि सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव खगराज बरालले डा. केसीका पक्षले संसोधनका विषयमा स्पष्ट जवाफ मागेको बताए । उनले वार्ता असफल नभएको दाबी गर्दै निरन्तर वार्ताको प्रयास हुने बताए । उनले संसदमा प्रवेश गरिसकेको विषयमा आफूले केही गर्न नसकिने स्पष्ट पारे ।

यसअघि बुधबार बिहान माथेमा कार्यदलको संयोजक केदारभक्त माथेमालगायतका टोलीसँग प्रधानमन्त्रीसहित सरकारी वार्ता टोलीले बालुवाटारमा छलफल गरेको थियो । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डाक्टर केसी २६ दिनदेखि आमरण अनशनमा छन् ।

shares