Breaking News

डा. केसीसँग वार्ता हुन नदिने तत्वहरू सक्रिय: प्रचण्ड

काठमाण्डौ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरू लागिपरेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले डाक्टर केसीको जीवनरक्षाको लागि तीन जना डाक्टरको सल्लाहअनुसार जुम्लाबाट ल्याएको भन्दै वार्ता गर्न पनि नदिने, समस्याको समाधान गर्न पनि नदिने तत्व हाबी भएको बताए ।

प्रचण्डले शिक्षा क्षेत्रलाई राजनीतिक भूमरीमा पार्न खोजिएको भन्दै यसलाई सबैले चिर्नुपने उल्लेख गरे । उनले शिक्षा क्षेत्रमा समस्या रहेको भन्दै सबै समस्याहरूलाई हल गर्न उच्च शिक्षा आयोग बनाउन सरकार तयार रहेको पनि बताए । संविधान सबैले मान्नुपर्ने भन्दै केही तत्वहरूले अराजकता निम्त्याउन खोजिरहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा सुधार गरेमात्र समाजवादतर्फ जान सकिनेमा जोड दिए । जनताको माझमा पनि ७० प्रतिशत विज्ञान प्रविधि र व्यावसायिक क्षेत्रमा लगानी गर्ने आफूहरूको योजना रहेको भन्दै उनले नयाँ युगको परिवर्तनका लागि सबैले सहयोग गर्नुपर्ने जिकिर गरे । निजी सम्पत्तिलाई रष्ट्रियकरण गरे मात्र समस्याको समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको भन्दै उनले सम्पूर्ण निजी क्षेत्रलाई अहिले नै राष्ट्रियकरण गर्न संविधानले नै नदिने स्पष्ट पारे ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि हेलिकप्टर पठाइएको भन्दै अपहरण गरिएको आरोपप्रति आपत्ति जनाए । उनले माथेमा आयोगको सुझाव अनुसार नै नयाँ चिकित्सा विधेयक ल्याइएको भन्दै डाक्टर केसीसँग वार्ता गर्न सरकार तयार रहेको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शिक्षक आह्वान पुस्तक विमोचन गरेका थिए भने संगठनका केही व्यक्तिहरूलाई सम्मान पनि गरेका थिए ।

shares