Breaking News

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

काठमाण्डौ, ८ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकहरूले जनाएका छन् ।

डा. केसीको सत्याग्रह यसअघिका भन्दा लामो हुँदै जाँदा स्वास्थ्यमा देखिएको जटिलता पनि थपिँदै गएको हो । १५ औँ पटकको अनशनमा रहेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । जुम्लाबाट सुरु गरेको डा. केसीको सत्याग्रह मंगलबार २५ औँ दिनमा प्रवेश गरेको छ ।

सत्याग्रहको झण्डै एक महिना हुन लाग्दा पनि सहमति गरी उनको जीवन रक्षाका लागि ठोस पहल हुन सकेको छैन । स्वास्थ्यमा गम्भीरता देखिएको र केसीको जीवन रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको भन्दै सरकारले गएको बिहीबार डा. केसीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौँ ल्याएको हो ।

यता चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राखेर २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न भन्दै रेजिडेन्ट डाक्टरहरूले काम छोडेर अनशन थालेका छन् । डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि सरकारले वार्ताको लागि पहल नगरेको भन्दै उनीहरूले आफू कार्यरत स्वास्थ्य संस्थामा नियमित ओपिडी टिकट, रसिद, बिल बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

उनीहरूको आन्दोलनसँगै शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल काठमाडौँ र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अइसियू र इमर्जेन्सी बाहेकका सेवा केही प्रभावित भएकोे छ । २५ दिनसम्म अनशन बस्दा पनि सरकारले वार्ताको पहल नगरी केसीप्रति आक्रामक भएकाले आन्दोलन गर्नुपरेको चिकित्सकहरूले जनाएका छन् ।

रेजिडेण्ड डक्टर्सहरूको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले देशभरका चिकित्सकलाई इमर्जेन्सी र आइसियू बाहेकका अन्य सेवा बहिस्कार गर्न निर्देशन दिएका छन् ।

shares