Breaking News

डा. केसीको एजेन्डामा कांग्रेसलगायतका दलले फाइदा लिन खोज्दैछ: प्रधानमन्त्री

काठमाण्डौ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर गोविन्द केसीको एजेन्डामा कांग्रेस लगायतका राजनीतिक दलले फाइदा लिन खोजेको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुन मुद्दा, मामिला र के विषयमा अनशन बसेको भन्ने कुरा अब सबैले आफैं थाहा पाउने भन्दै कोही माला लगाएर त कोही कोही तुलसी लगाएर प्रकट भएको टिप्प्णी गरे । उनले केसीको अनशनमा लागेका केही महान बुद्धिजीवी देखेर उदेक लाग्ने गरेको पनि बताए ।

कांग्रेसले विधेयक दर्ता गरेपछि विरोधको सूचना दर्ता गरेको भन्दै बहसमा उत्रिन पाइने तर जिद्धी र अहंकार गरी संसद अवरुद्ध गर्न नपाइने बताए । केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको सुनाउँदै उनले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको पनि बताए ।

त्यस्तै कांग्रेससँगै कुनै एजेन्डा नभएको भन्दै उनले यसअघि कांग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि देशका लागि केही नगरेको आरोप लगाए । लोकतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै उनले त्यसप्रतिको प्रतिबद्धतामा शंंका नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले लोकतान्त्रिक भन्ने शक्तिले डा. गोविन्द केसीको हत्या गर्न र लाशको राजनीति त गर्न चाहेको हैन भन्ने प्रश्न गरे । उनले गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा कांग्रेसको आलोचना पनि गरे । उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले हिजोका अधिकृतहरूलाई सडकमा उतार्दैमा सरकार र नेकपा कमजोर नहुने बरु, अझ शक्तिशाली हुने दाबी गरे । आफूहरूले भर्खर पार्टी एकता गरेको र जनतामा जान बाँकी नै रहेकाले प्रतिक्रान्तिले निहुँ खोज्न थालेको भन्दै दाहालले भदौबाट अभियान छेड्ने र जनताको तागत देखाउने चेतावनी दिए ।

shares