ज‌ंगलबाट समाजतर्फ फेरिदै राउटेको जीवनशैली

 रमेश कुमार पाण्डे

सुर्खेत । जंगलको राजा मानिने राउटे जातीमा पछिल्लाे पटक परिवर्तन आएकाे छ । कुनै बेला पैसा छोएमा पाप लाग्छ भन्ने उनीहरु अहिले सामाजिक सुरक्षा भत्ता बुझ्छन । जंगलमा जीवन कष्टकर भएपछि अलि सहज जीवनयापनतर्फ उनीहरुकाे लालसा बढ्न थालेकाे छ । जंगलमा बस्ने र फिरेन्ते जीवन बिताउने लोपोन्मुख राउटे जाति अहिले अन्य समुदायसँग नजिक हुन थालेका छन् । जंगलमा खानेकुरा कम भएकाे तथा काठका भाँडाकाे विक्री घटेपछि राउटे जातिकाे जिवन कष्टकर बनेकाे छ । त्यसैले उनीहरुमा अन्य नागरिक सरह जीवन बिताउने आकाँक्षा पलाउन थालेकाे छ ।

सुर्खेत, सल्यान, दैलेख र अछाम जिल्लामा राउटे जातिकाे बसाेबास छ । दैलेखको गुराँस गाउँपालिकाले राउटे जातीलाई परिचय–पत्र समेत उपलव्ध गराएकाे छ । कर्णाली प्रदेश सरकारले पनि राउटे समुदायलाई नजिक बनाउन सामाजिकिरणकाे अभियान थालेकाे छ ।

कर्णाली गुराँस गाउँपालिकाले राउटे बस्तीमै पुगेर भत्ता वितरण गर्दै आएको छ । सामाजिक सेवा केन्द्र नामक संस्थाले त रेखदेखका लागि भन्दै दुई जना कर्मचारी नै राउटे बस्तीमा खटाएकाे छ । जंगलमा हुने विभिन्न खालका संक्रमणले राउटे जाती नै लोप हुने खतरा छ । उनीहरुलाई बचाउन सरकारी स्तरबाट पनि प्रयास भइरहेका छन् । पछिल्लाे पटक राउटे जाति आफै अन्य समुदायसँग नजिक हुन थाल्नु सकारात्मक हाे ।

shares