Breaking News

जर्मन फुटबलर ओजिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डौ, ७ साउन । सन् २०१४ को विश्व विजेता जर्मनीका प्लेमेकर मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा तीनवटा विज्ञप्ति सार्वजनिक गर्दै ओजिलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले राष्ट्रिय टोली छोड्नुको मुख्य कारण जातिवाद र अपमान भएको बताएका छन् ।

जर्मन फुटबल संघमा भएको जातिवाद र विश्वकपको पहिलो चरणबाट बाहिरिनुमा आफूलाई मात्र दोषी देखाएको भन्दै ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रा अन्त्य गर्ने निर्णयमा पुगेको बताए ।

आर्सनलका २९ वर्षे ओजिलले आफूलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएको गुनासो गरे । जर्मनीले विश्व कपमा ८० वर्षयताकै खराब प्रदर्शन गर्दा ओजिलको चर्को आलोचना भएको थियो ।

विश्व कपअघि टर्कीका राष्ट्रपति रिकेप टेएप इर्डोडोनसँग लण्डनमा ओजिलले तस्वीर खिचाएपछि झन् विवाद चर्किएको थियो । सन् २००९ मा जर्मन सिनियर टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीबाट ९२ क्याप जित्ने क्रममा २३ गोल गरेका छन् ।

हालै रसियामा सम्पन्न विश्व कपमा जर्मनी २ हार र १ जितका साथ समूह चरणबाटै बाहिरिएको थियो ।

shares