Breaking News

जथाभावी खोलिएका शिक्षण संस्थाबाट प्राप्त योग्यताको प्रमाणपत्रले पीडा दिन्छ: प्रधानमन्त्री

काठमाण्डौ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका पीडाको विषय भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको बताएका हुन् ।

प्रधानमन्त्री अोलीले शिक्षण संस्थालार्इ बेरोजगार उत्पादन केन्द्र बनाउन नहुनेमा समेत जोड दिए । सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उनले स्पष्ट गरे ।

उनले नेपाललाई लामो समय गरिब बनाएर खाना लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्‍याएको भन्दै अब मुलुक समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ विकासको बाटोमा अघि बढ्ने धारणा राखे ।

नेपालीहरू खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेको प्रधानमन्त्री अोलीको भनाइ छ ।

shares