Breaking News

चिकित्सा शिक्षा विधेयक हुबहु पारित नभएसम्म आन्दोलन जारी रहन्छ: निधि

काठमाण्डौ, ८ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

एक साता लामो यूरोप भ्रमणपछि स्वदेश फर्केका कांग्रेस उपसभापति निधिले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न यसअघिको सरकारले ल्याएको विधेयक हुबहु पारित गर्नुपर्ने बताएका हुन् । उनले संबोधन भइसकेको विषयलाई सरकारले खोतलेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए ।

नेता निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरे । सरकारको रबैयाविरुद्ध कांग्रेस सडक र सदन दुवै मोर्चामा उत्रिएको उल्लेख गर्दै उनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी हस्तक्षेपको निन्दा गरे । सरकारले यस किसिमको दमन र बर्बर प्रवृत्ति बन्द गर्नुपर्ने भन्दै नेता निधिले दमनमा नउत्रिन सरकारलाई चेतावनी दिए ।

कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते प्रस्थान गरेका थिए । उनी आफ्नो भ्रमण कार्यक्रम छोट्याएर मंगलबार स्वदेश फर्किएका हुन् ।

shares