गौतमकाे फरक प्रस्तावमा माधवकाे अस्वीकार

काठमाडौं  ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वामदेव गौतमले पेश गरेको ‘फरक मत’ को बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गर्नुभएको छ ।

नेता नेपालको  असहमतिका कारण गौतमको फरक प्रस्ताव केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल भएको छ । अन्य नेताहरुले साझा दस्तावेज बनाउन नचाहेपछि गौतमले आफ्नो फरक मतको दस्तावेज व्यक्तिगत विचारको रुपमा स्थायी समितिमा पेश गरेका छन् ।

गौतमनिकट स्रोतका अनुसार गत शनिवार स्थायी कमिटी बैठक बस्नुअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग गौतमले बैठक गरेका थिए । उनले आफ्नो ‘फरक मत’ को मस्यौदा त्यसअघि नै ती नेताहरुलाई अध्ययनका लागि दिइसकेका थिए । यी चारैजना नेताले सचिवालय बैठक बहिस्कार गरेपछि उनीहरुले स्थायी कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनलाई चुनौति दिने अनुमान गरिएको थियो ।

स्रोतका अनुसार गौतमले आफ्नो मस्यौदालाई चारैजना नेताको साझा दस्तावेजका रुपमा स्थायी कमिटी बैठकमा लैजान प्रस्ताव गरेका थिए । तर, माधव नेपालले तत्काल यसलाई गौतमले व्यक्तिगत मतका रुपमा लैजानु उपयुक्त हुने भन्दै साझा दस्तावेज बनाउने प्रस्ताव अस्वीकार गरेका थिए । नेपालले अस्वीकार गरेजस्तै झलनाथ र नारायणकाजीले पनि त्यसलाई बोक्न चाहेनन् ।

shares