Breaking News

खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव छैन: खेलकुद मन्त्री

काठमाण्डौ, ७ साउन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

सोमबार अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन २०१८ को काठमाडौस्थित दशरथ रंगशालामा उद्घाटन गर्दै मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको बताएका हुन् । मन्त्री विश्वकर्माले खेल क्षेत्रमा स्वदेशी निजी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन पनि सरकारले भूमिका निर्वाह गरिरहेको बताए ।

सरकारले बजेटमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै केन्द्र, प्रदेश र स्थानीय तहहरूमा आवश्यकताअनुसार खेलमैदानहरू निर्माण गर्ने सरकारको लक्ष्य रहेको उनले बताए । त्यस्तै उनले खेलकुद क्षेत्रमा नेपालको स्थान माथि उठाउन कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा खेलकूद परिषद्का सदस्य सचिव केशव विष्टले नेपालमा पूर्वाधारका हिसाबले ब्याडमिन्टन सबैभन्दा सहज खेल भएको बताए । प्रतियोगितामा कुल दुई सय ८५ खेल हुने बताइएको छ । प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका चार सय २२ जना खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा समावेश गरिएको छ । प्रतियोगिता साउन १२ गते सम्म चल्नेछ ।

shares