के-के भएको थियो वाइड बडी खरीद प्रक्रियामा ?

काठमाडाैं । लेखा समितिले कानुन अनुसार कारवाही गर्न सिफारिस गरेपनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले फेरि एकपटक वाइड बडी जहाज खरीद प्रक्रियामा आफ्नो संलग्नतालाई पुरै अस्वीकार गर्नुभएको छ । संसदीय समितिको प्रतिवेदन आईसकेको तथा सरकारले बनाएको उच्चस्तरीय न्यायीक समितिले काम गरिरहेको बेला मन्त्री अधिकारीले आफुलाई निर्दोष देखाउने कोशिष गर्नुभयो । यस्तोमा जान्न जरुरी छ मन्त्री अधिकारी आएपछि वाइड बडी जहाज खरीद प्रक्रियामा के-के भएको थियो ?

रवीन्द्र अधिकारीले २०७४ चैत्र ३ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको कमान्ड लिनुभएको थियो । अधिकारी मन्त्री बनेपछि निगमले वाइड वडी खरिदको २ किस्तामा गरेर साढे १३ करोड अमेरिकी डलर भुक्तानी गरेको थियो । र, यसका लागि मन्त्रीले स्वीकृत दिनुभएको थियो । तर, मन्त्री अधिकारीले आफूले मन्त्रालय सम्हाल्नु अगाडि नै जहाज खरीद प्रक्रिया शुरु भइसकेकाले यसमा आफ्नो संलग्नता नरहेको दावी गर्नुभयो ।

२०७४ चैत्र १९ मा महालेखा परीक्षकको प्रतिवेदनमा वाइडबडी विमान खरीद प्रक्रियामा प्रश्न उठ्यो । तर, मन्त्री अधिकारीले रकम नपठाएकाे भए ९ अर्ब नेपाली रुपैयाँ डुब्ने र निगम टाट पल्टने स्थिति आउने दावी गर्नुभयो ।

एकातिर मन्त्रीको सफाई छ, अर्कोतिर उहाँले संसदीय समिति, नियामक निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानविनमा आफ्नो पूर्ण सहयोग हुने विश्वास दिलाउने कोशिष गर्नुभएको छ ।

अधिकारीले जिम्मेवारी सम्हाल्नुभन्दा ३ वर्षअघि नै वायु सेवा निगमका लागि २ वडा वाइड बडी विमान किन्ने तयारी शुरु भएको थियो । अधिकारी मन्त्री बन्दा विमान खरीद प्रक्रिया शुरु भएर १० लाख अमेरिकी डलर बैना र पहिलो किस्ताको गरी झण्डै ८ करोड अमेरिकी डलरसमेत गइसकेको थियो । मन्त्री अधिकारी अहिले यहीँ पुरानो कारोवारलाई आधार मानेर आफुमाथि उठेका प्रश्नको जवाफ दिईरहनुभएको छ ।

shares