Breaking News

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाईका लागि प्रश्नावली तयार

काठमाण्डौ, ९ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधान्यायाधीशमा सिफारिस गरिएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईका लागि प्रश्नावली तयार पारेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जोशीविरुद्ध परेका विभिन्न पाँच उजुरीमाथि अध्ययन गर्दै सुनुवाईका लागि प्रश्नावली तयार पारेको समिति सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।जोशीको भोलि बिहीबार संसदीय सुनुवाई हुँदैछ । कार्यसम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै उनीमाथि विभिन्न पाँच उजुरी परेको थियो । यसअघि समितिले मंगलबार उजुरीकर्तासंग छलफल गरेको थियो ।

प्रधानन्याधीशका लागि गएको चैत १३ गते बसेको न्यायपरिषद् बैठकले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो । संवैधानिक परिषद्ले भने जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्दै संसदीय सुनुवाई समितिमा पठाएको थियो । संसदीय सुनुवाई समिति निर्माण हुन ढिलाइ भएकाले लामो समयदेखि जोशी कायममुकायम रहँदै आएका थिए । असार २५ गते संसदीय सुनुवाई समितिले पूर्णता पाएको थियो, त्यसपछि मात्रै सुनुवाईको प्रक्रिया सुरु भएको हो ।

गएको चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदै आएका छन् ।

shares