कांग्रेस महामन्त्री शशांक धर्म निरपेक्षताकाे विराेधमा

आफ्नै नेतृत्वको सरकारको पाला बनेको संविधानको स्वामित्व लिन कांग्रेसले न्वारानदेखिको बल लगाएको छ । तर, कांग्रेस महामन्त्री डा.शशांक कोइराला चाहिँ धर्मनिरपेक्षता हटाउन भरमग्दुर कोशिष गरिरहनु भएको छ ।

कांग्रेस महासमिति बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधनसहितका ५ प्रस्ताव पेश हुँदैछन । कांग्रेसको राजनीतिक प्रतिबेदन भन्छ-कांग्रेसकै नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी समानुपातिक प्रतिनिधित्व, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धिहरुलाई संस्थागत र सुदिृढीकरण गर्नु नेपाली कांग्रेसको आजको मूल जिम्मेवारी हो ।

यति मात्र होइन, कांग्रेसको नजरमा-समावेशीता, मिश्रित निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता र अहिंसा तथा शान्ति संविधानका उपलब्धि हुन् । र, आफ्नो प्रस्तावमा कांग्रेसले धर्मनिरपेक्षताबारे अडान राखेको छ-धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रताको मुख्य कडी हो ।

सर्वधर्म समभाव, धार्मिक सहिष्णुता र एकअर्काको धर्मप्रतिको सम्मान हो । तर धर्म परिवर्तन र धर्म निषेध धर्म निरपेक्षता होइन । संविधानको मर्म अनुरुप धार्मिक स्वतन्त्रता भएको धर्मनिरपेक्ष राज्य संविधानमा किटान गरिएको छ ।

यी सबै उपलव्धि कांग्रेसको नेतृत्वमा नेपाली जनताले प्राप्त गरेको अवस्था हो । कांग्रेसका लागि धर्म निरपेक्षता ठूलो उपलब्धि हो । महासमितिमा पेश हुने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमितिमा गएपछि पनि महामन्त्री कोइराला धर्म निरपेक्षता हटाउने पक्षमा कायमै हुनुहुन्छ ।

हुन त संविधान निर्माण प्रक्रियादेखि नै कांग्रेस भित्र मुलुकलाई धर्म निरपेक्ष बनाउन नहुने मत थियो । तर, संविधान अाएपछि पनि कांग्रेसकै जिम्मेवार नेताले धार्मिक मुद्दाको राजनीति छाडेका छैन् । बरु, यसलाई मलजल गरिरहेका छन् ।

shares