Breaking News

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाण्डौ, ८  साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि मंगलबारको राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ ।

मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले बैठक चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाइरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक भट्टराई सदनले चल्नुपर्छ भन्दै जबर्जस्ती सदन रोक्न पाइँदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि कांग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरेका थिए ।

अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरू बोलिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलीलाई स्मरण गराएका थिए । निकै समयपछि सत्तापक्ष दलका सदस्यले आसन ग्रहण गरेपनि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार सम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

shares