Breaking News

कर्मचारी सरुवा प्रणाली स्वचालित र मापदण्डमा आधारित बनाउन माग

काठमाण्डौ, ७  साउन । नेपाल निजामती कर्मचारी संगठनले सरुवा प्रणाली स्वचालित, पूर्वानुमानयोग्य र मापदण्डमा आधारित बनाउन माग गरेको छ ।

काठमाडौंमा सम्पन्न संगठनको चौथो विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन गर्दै संगठनले यस्तो माग गरेको हो । त्यस्तै संगठनले निजामती ऐन तर्जुमा गर्दा आफूहरूसंग छलफल नै नगरेको भन्दै साविक ऐनमा भएसरह ट्रेड युनियन अधिकार समावेश गरी कर्मचारीको अधिकतम हित समावेश गर्ने किसिमको ऐन निर्माणमा जोड दिएको छ ।

हरेक तहमा आन्तरिक, अन्तर प्रदेश र स्थानीय तह, प्रदेश र संघबीचमा गरिने कर्मचारी सरुवा बढुवाका लागि स्पष्ट मापदण्ड र वैज्ञानिक विधि अवलम्बन गर्नुपर्ने संगठनको माग छ । संगठनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको तलव सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिन तत्काल उच्चस्तरीय तलब आयोग गठन गर्न सरकारसँग माग गरेको छ भने चालु आर्थिक वर्षको बजेट वक्तब्यमार्फत सम्बोधन भएका विषयहरू राष्ट्रसेवक हाईड्रो कार्यक्रमलाई लागू गर्नका लागि उपयुक्त आयोजना छनौट गरी यथाशीघ्र निर्माण कार्य अगाडि बढाउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारीहरूले भ्रष्टाचारजन्य कार्यको न्यूनिकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्नुपर्ने बताए । उनले तोकिएको स्थानमा कर्मचारी जानुपर्ने र निश्चित अवधि काम गर्नुपर्ने भन्दै कर्मचारी संगठन कर्मचारी खटनपटनको बाधक नभएको स्पष्ट पारे ।

त्यसैगरी करार सेवामा धेरै लामो समयसम्म काममा लगाइएका श्रमिक/कर्मचारीहरूको सामाजिक सुरक्षाको ग्यारेण्टीका लागि ध्यानाकर्षण गराउँदै संगठले लोकसेवा आयोगको प्रक्रिया पूरा गरी स्थायीको प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।

shares