Breaking News

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४० औँ स्मृति दिवस देशव्यापी मनाइँदै

काठमाण्डौ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस सोमबार देशभरि विभिन्न कार्यक्रमको गरी मनाइँदैछ ।

संस्थापक नेताको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहितका वामपन्थी दल तथा तिनका भातृ संस्थाले देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरेका छन् । स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंको चम्पादेवीमा पुष्पलालको प्रतिमामा माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले पुष्पलालको सपनालाई साकार पार्नका लागि राष्ट्रिय एकताका साथै कम्युनिष्ट शक्तिलाई एकताबद्ध पार्दै अघि बढ्नुपर्ने बताए । त्यस्तै उनले कम्युनिष्ट र जनतासंगको सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय र जातिय भावनालाई समेट्दै सरकार अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । नेपाली राजनीतिमा पुष्पलाल श्रेष्ठले प्रतिपादन गर्नुभएको दृष्टिकोण केवल पञ्चायती व्यवस्थाको समयमा मात्र नभएर अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।

भारत प्रवासमा रहेका बेला पुष्पलालले २००६ साल वैशाख १० गते आफूसहित निरञ्जन गोविन्द वैद्य, नारायणलिवास जोशी र नरबहादुर कर्माचार्य संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनलार्ई वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । पञ्चायतविरुद्धको संघर्षका लागि नेपाली काँग्रेससँग सहकार्य गर्ने नीति अबलम्बन गरेका कारण पुष्पलाललाई केही वामपन्थी दलहरूले नै गद्धारको संज्ञा दिएका थिए ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।

पुष्पलालले विसं २००६ सालमा स्थापना गरेका पार्टी नेकपा विभाजित हुँदै पुनः एक भएको छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भई नेकपा बनेको छ । नेपालका ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा आएपछि पुष्पलालको नेपालका कम्युनिष्ट पार्टी एक बनाउने सपना पूरा भएको छ ।

shares