कंग्रेस महासमितिमा प्रतिवेदनमाथि छलफल जारी

काठमाडाैं । नेपाली कंग्रेसको महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि आज पनि छलफल हुँदै छ । आजको बैठकमा विधान संशोधन मस्यौदा पनि प्रस्तुत गर्ने तयारी भएको छ ।

हिजो साँझ शीर्ष नेताहरुबीच भएको छलफलमा पदाधिकारी बढाउने सहमति भएसँगै विधान संशोधन मस्यौदा अघि बढ्ने देखिएको हो । सभापति सहित नौ जना पदाधिकारी राख्नेबारे सहमति भएको हो । यद्यपी पदाधिकारी चयन प्रक्रियामा भने संस्थापन र रामचन्द्र पौडेल पक्षबीच सहमति हुन सकेको छैन ।

महामन्त्री पुर्णबहादुर खड्काको प्रयासमा पदाधिकारी बढाउने विषयमा दुई पक्षबीच सहमति भएको हो । सहमति अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई -दुई जना रहने छन् । सभापतिसँगै कोषाध्यक्ष र प्रवक्ता भने एक-एक मात्र रहनेछन् । पदाधिकारीको संख्या बढाउनेबारे आज विहान बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आधिकारीक निर्णय गर्ने छ ।

सभापति शेरबहादुर देउवा पक्षले बढाइएको पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था गरिनुपर्ने बताएका छन् । तर, वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्ने भन्दै फरक मत राखेका छन् । कांग्रेसमा विधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ ।

shares