Breaking News

उपराष्ट्रपति कप: अाजको खेलमा एपीएफ र रौतहट विजयी

काठमाण्डौ, ९ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत बुधबार भएका खेलहरूमा एपीएफले काठमाडौंलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदा रौतहट जिल्ला फुटबल संघको टोलीले विभागीय टोली नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा एपीएफलाई फराकिलो जित दिलाउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । यस्तै अनिता केसीले ह्याट्रिक पूरा गर्दा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरे ।

सावित्राले खेलको ३२औं, ५१औं, ६१औं, ८४औं र ८५औं मिनेटमा गोल गर्दा अनिता केसीले खेलको दोस्रो, बीसौं र तीसौं मिनेटमा गोल गरेकी थिइन् । यो जितसँगै एपीएफले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । काठमाडौंको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं रौतहटसंग पराजित भएको थियो ।

रौतहटले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । रौतहटले विभागीय टोली नेपाल पुलिस क्लबलाई १ – ० ले हरायो । रौतहटलाई जित दिलाउन अस्मिता बैद्यले निर्णायक गोल गरिन् । रौतहटलाई जित दिलाउन अस्मिताले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

योसँगै रौतहटले लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ । रौतहटले दुई खेलबाट ६ अंक जोडेको छ । रौतहटले पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो । पुलिसको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

shares