आज किराँत समुदायकाे विशेष पर्व उधौली मनाइदै

काठमाडाैं । किराँत समुदायले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी आज उधौली पर्व मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार समुदायले राष्ट्रिय चाडका रुपमा मनाउने गरेका छन् ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।

विसं २०६४ पछि सरकारले मार्गशीर्ष शुक्ल पूर्णिमाको दिनलाई उधौली पर्वका रुपमा सार्वजनिक बिदा दिन थालेपछि पहिचानसहित रौनकता बढेको किराँत धर्मावलम्बीले जनाएका छन् । यो पर्व विशेष गरी किरात जातिको बाहुल्य रहेको नेपालका पूर्वी जिल्लामा र काठमाडौँ उपत्यकामा बसेका किरातद्वारा पनि मनाइन्छ ।

दिवसकाे अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश निकाली भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेकाे उल्लेख गर्नु भएको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नु पर्ने बताउनुभएको छ । उहाँले नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने बताउनुभयाे ।

shares