Breaking News

अाज पनि राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाण्डौ, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण बुधबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ ।

डा‍क्टर गोविन्द केसीका माग पूरा गर्न, बंगलादेशमा अध्यनरत छात्राबारे बीएन्डसी मेडिकल कलेजका दुर्गा प्रसाईंले दिएको अभिव्यक्ति र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै कांग्रेसले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अबरुद्ध भएको हो ।

बैठकमा कांग्रेसका बद्री पाण्डेले सरकारको अकर्मन्यताका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था दयनीय भएको भन्दै सरकारलाई दुईतिहाइको दम्भबाट मुक्त भएर वार्ता गर्न माग गरे । उनले सरकारले अध्यादेशलाई बंग्याएर सरकारले विधेयक ल्याएका कारण समस्या बल्झिएको जिकिर गरे । उनले बंगलादेशमा अध्ययनरत छात्राको अविभावकलाई प्रताडित हुनेगरी आएको अभिव्यक्ति सम्बन्धमा मेडिकल कलेज सञ्चालक प्रसाईंलाई कारवाही हुनुपर्ने माग गरे ।

त्यस्तै उनले कांग्रेसले बानेश्वरमा शनिबार शान्तिपूर्ण प्रदर्शनमा भएको दमनबारे गृहमन्त्रीले राजीनामा दिन माग गर्दै सरकारका तर्फबाट आफूहरूले उठाएका विषयको उचित तवरले सम्बोधन नभए विरोधलाई जारी राख्ने बताए । सांसद पाण्डेले बोलेपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।

कांग्रेस सांसद उठेर विरोध गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पटक-पटक बस्न आग्रह गरेका थिए । साथै उनले बैठकमा समयमा नै उपस्थित हुन पनि मन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । कांग्रेसको विरोधपछि राष्ट्रियसभाको बैठक साउन १६ गते बुधबारसम्मका लागि स्थगन गरिएको छ । यसअघि मंगलबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको थियो ।

shares