Breaking News

अन्नपूर्ण अन्तराष्ट्रिय ब्याडमिण्टन: दिपेश र नङशलदेवी क्वार्टरफाइनलमा

काठमाण्डौ, ९ साउन । पुरुषतर्फ एपीएफका दिपेश धामी र महिलातर्फ त्रिभुवन आर्मीकी नङशलदेवी तामाङ जारी अन्नपूर्ण अन्तराष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलमा दिपेशले जेष्ठ ब्याडमिण्टनका सुनील जोशीको चुनौति २१–१५, १८–२१ र २१–१० को प्रतिस्पर्धात्मक सेटमा पन्छाए । यसै स्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले बैकुण्ठ श्रेष्ठलाई २१–११ र २१–१६ ले हराउँदै अन्तिम आठमा पुगे । पुलिसका दीपक बोहोरा भने भारतीय खेलाडी शुभ दयसँग २१–१३ र २१–१९ को सोझो सेटमा पराजित भए ।

त्यस्तै बंगलादेशका मोहम्मद सलमान खानले एपीएफका विजित थापामगरलाई २१–११ र २१–१३ ले हराए । आर्मीका खेलाडीहरु प्रफुल महर्जन र रुकेश महर्जनले क्रमसँ एपीएफका निराजन देवकोटा र भारतका शेख मोहम्मख रोविनलाई पराजित गरी क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । पुलिसका बिष्णु कटुवालले भने आर्मीका पविन लिङथेपलाई हराए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगिताको महिला एकलतर्फ आर्मीकी नङशलले जेष्ठ ब्याडमिण्टन क्लवकी मनिशा खड्कालाई २१–७ र २१–३ को सहज सेटमा हराइन् । बाँकेकी सम्झना शर्माले प्रदेश ४ की प्रजिता गुरुङलाई हराउँदा पाकिस्तानी खेलाडी शाहजाद महूरले प्रदेश १ की सीमा राजवंशीबाट वाकओभर पाइन् ।

आर्मीका अन्य खेलाडीहर” रशिला महर्जन, अनु राई र अमिता गिरीले क्रमसः प्रदेश ५ की समीक्षा न्यौपाने, प्रदेश ५ कै सुष्मा श्रेष्ठ र प्रदेश ५ की आकृति केसीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष एकलमा पराजित भएपनि जेष्ठ ब्याडमिण्टनका सुनील जोशी यू–१९ तर्फ सविन तामाङलाई हराउँदै क्वार्टरफाइनलमा पुगे ।

shares