October 24, 2017

माओवादी केन्द्रनै निर्वाचनमा जान चाहाँदैन–शशांक कोइराला

२१ माघ, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले माओवादी केन्द्रकै कारण निर्वाचनमा जान ढिलाई भइरहेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोेइरालाले भने ‘सरकारको नेतृत्व गर्ने दलको कारणले निर्वाचनमा जान ढिलाई भएको हो’ । ‘माओवादी केन्द्रलाई निर्वाचनमा गएर फाइदा हुनेवाला छैन त्यसैले उनीहरुलाई सरकारमा जति धेरै समय बस्यो त्यति धेरे फाइदा हुन्छ ।’

मधेसवादी दलले भाग नलिए पनि निर्वाचन हुने उनले बताए । उनले अगाडि भने ‘राष्ट्रियता जोगाउन र संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन तर मधेसवादी दलले दोधारको कुरा गरिरहेकाले निर्वाचनमा नजान पनि सक्ने संभावना रहेको उनले बताए । मधेसवादी दलले पहिले संविधान संशोधनको प्रस्ताव पारित भए मात्रै निर्वाचनमा जाने, नजाने भनिरहेको र दोस्रो ठूलो दल एमाले संशोधन प्रस्तावको विरोधमा छ । त्यसैले संविधान संशोधन प्रस्ताव पारित हुने स्थिति कमै देखिरहेको बताए ।

निर्वाचन नगराए संविधान असफल हुने स्थिति र मधेसवादी दल निर्वाचना भाग नलिए देशमा द्वन्द्व कायम रहिरहने अवस्था भएको उनले बताए । उनले अहिलेको स्थितिमा स्थानीय तहको निर्वाचन गराए विवाद हुने भएकोले स्थानीय निकायको निर्वाचनमा नै जाने बताए ।