August 22, 2017

नवजात शिशुको मृत्यपछि पाटन आस्पतालमा विवाद

२२ माघ, पाटन ललितपुर । पाटन अस्पताल एक नवजात शिशुको मृत्युको विषयलाई लिएर प्रशासन र मृतकका आफन्तबीच विवाद भएको छ ।

पोखरा घर भई हाल बसुन्धरमा बस्ने प्रमा थकाली (श्रेष्ठ)को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएको घोषणापछि अस्पताल प्रशासन र मृतकका आफन्त बिच विवाद भएको हो । मृतकका आफन्तले मृत्युको सत्यतथ्य छानबिनको माग गर्दै शव बुझेका छैनन् । मृतक नाबालककी हजुरआमा अनिता धितालले अस्पतालले सुत्केरी हुँदादेखि अहिलेसम्मको रिपोर्ट उपलब्ध गराउन नमानेको भन्दै छानबिन हुनुपर्ने माग गरेकी छिन ।

प्रमाले जन्माएका दुई नाबालकमध्ये पहिले जन्मेको बच्चालाई अस्पतालले शुक्रबार राति मृत्यु भएको घोषणा गरेको थियो । बालकलाई भएको समस्याबारे अस्पतालले बताउन नचाहे पनि उनलाई आइसीयूमा राखेर उपचार गराइएको थियो । मृतकका आफन्तले एन्टिवायटिक औषधि बढी खुवाएका कारण नाबालकको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुका अनुसार बच्चा जन्मेको १७ घण्टापछि औषधि दिइएको थियो ।

‘नर्मल डेलीभरी’ बाट जन्मेको बच्चाको मृत्यु हुन पुगेकाले सत्यतथ्य छानबिन गर्न मृतक नवजात शिशुका बुबा आशिष श्रेष्ठले माग गरे । उनकाअनुसार प्रमा थकाली पाटन अस्पतालमै चार महिनादेखि निरन्तर स्वास्थ्य जाँचमा थिइन । मृतक शिशुको उपचारमा संलग्न डाक्टर सम्पर्कमै आउन चाहेको छैन । तर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्मासँग प्रतिक्रिया लिँदा उनले भने, ‘के भएर शिशुको मृत्यु भएको बच्चाको उपचारमा लागेका डाक्टरलाई थाहा छ । सम्बन्धित डाक्टरसँग बुझ्छौं ।’ अहिलेसम्म विवाद समाधानका लागि दुवै पक्षबीच छलफल हुन सकेको छैन ।