November 18, 2017

एमाले पहिलो हुने डरले सरकारले निर्वाचन गराउदैन–ओली

अमर काफ्ले

२२ माघ, (इनरुवा) सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

चुनाव पछि एमाले मुलुकको ठुलो शक्ति हुने डरले माओवादी र काँग्रेस चुनावबाट पन्छिन मिति घोषणाकालागि आलटाल गर्न लागिपरेको उनको भनाई थियो ।

सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले राजनैतिक संकट समाधानकालागि निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

मधेशवादी दल तर्फ इशारा गर्दै ओलीले मधेशी जनताको नाममा व्यक्तिगत स्वार्थपूर्ति गर्न बाहेक नजान्नेले मूलुकको समृद्धी बारे सोच्लान भन्नु दिवा स्वपन्न झै हुने धारणा राखेका छन् ।

ओलीले वर्तमान सरकार बाह्य शक्तिको इशारामा चलेको दावी समेत गरेका छन् ।

एमाले सुनसरीको आयोजनामा सम्पन्न सभालाई पार्टी सचिव भीम आचार्य सहितका केन्द्रिय तहका वक्ताहरुले सम्बोधन गरेका थिए ।