August 19, 2017

सरकारको पत्र हेरेपछि मात्रै निर्णय गरिने– निर्वाचन आयुक्त

२१ माघ, काठमाण्डौ । निर्वाचन आयोगले आगामी जेठ भित्र चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले हामीलाई निर्वाचनका लागि तयारी गर्न बाटो खुलेको छ, हामी अब तयारीमा जुट्छौँ ।’ डा. यादवले स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउनका लागि सरकारले पठाउने पत्र हेरेपछि मात्रै थप कुरामा निर्णय लिन सकिने बताए ।

उनले चुनावसम्बन्धी बाँकी काम तत्काल गर्न सरकारलाई विभिन्न दलसँग सहकार्य गर्न सुझाव दिए । डा। यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु दुःखद् भएको बताउँदै सो आयोगको प्रतिवेदन समयमै पाए मतदानस्थल कहाँ राख्नेलगायत प्राविधिक विषयमा निर्णय लिन सजिलो हुने बताए ।