शिक्षक सेवा आयोग

Written by admin. Posted in विविध, विशेष

Published on December 11, 2012 with

शिक्षक सेवा आयोगले १७ वर्षपछि शिक्षक दरबन्दी पदपूर्ति गर्ने भएको छ। आयोगले खुला विज्ञापन आह्वान गर्ने भएपछि लामो समयदेखि अस्थायी रहेका शिक्षकहरुलाई स्थायी हुने बाटो खुलेको छ भने अध्यापन अनुमति पत्र लिएर बसेकाका लागि ढुङ्गा खोज्दा देउता मिलेजस्तै भएको छ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेपछि शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको हो। शिक्षा मन्त्रालयले २०६३ साल बैशाख ११ देखि यताको रिक्त दरबन्दीमा खुल्ला विज्ञापन गरी पदपूर्ति गर्न पत्राचार गरेपछि आयोगले विज्ञापनको तयारी गरेको शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले जानकारी दिए।

२०५२ सालपछि पहिलो पटक खुला विज्ञापनबाट शिक्षक दरबन्दी पदपूर्ति गर्न लागिएको हो। लामो समय आयोगले विज्ञापन आह्वान नगर्दा शिक्षकहरु अस्थायी रुपमा नै काम गर्न बाध्य छन्। कति शिक्षक त अस्थायी रहेकै बेला उमेरको हद नाघेको भन्दै चिन्तित भएका छन्। तर, कार्यरत शिक्षकलाई उमेरको हदबन्दी नतोकिएको आयोगले जनाएको छ। दुईहजार त्रिसट्ठी सालको तथ्यांकका आधारमा देशभर करिब २५ हजार शिक्षक दरबन्दी रिक्त छन्। त्यसबाहेक थप पद पनि रिक्त रहेको बताइन्छ। रिक्त दरबन्दीका बारेमा स्पष्टरुपमा जानकारी गराउन आयोगले सबै जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरिसकेको छ।

आयोगले यसअघि लिएको परीक्षाको नतिजा सात वर्षपछि प्रकाशित गरेको थियो। तर, यसपटक भने परीक्षा लिएको ६ महिना भित्रै नतिजा प्रकाशन गर्ने अध्यक्ष सोतीले दाबी गरे। हाल मुलुकभर कुल एक लाख ४७ हजार शिक्षक दरबन्दी कायम रहेकामा करिव ४० हजारको सङख्यामा अस्थायी र राहत शिक्षक कार्यरत छन्।

२०६३ साल अगाडिदेखिनै अध्यापन गर्दै आएका शिक्षकले पनि खुला प्रतिष्पर्धामा भाग लिन पाउने छन् भने उत्तीर्ण नभएपनि उनीहरुको स्थान सुरक्षित रहने छ। तर, २०६३ बैसाख ११ पछि अस्थायी वा करार सेवामा अध्यापन गर्दै आएकाले भने खुला प्रतिष्पर्धामा उत्तीर्ण भएमात्रै अध्यापन गर्न पाउने नियम आयोगले बनाएको छ। आयोगले शिक्षण पेशामा जीवन अर्पण गरेका पूराना शिक्षकहरुलाई राहत दिंदै नयां जनशक्तिलाईसमेत अवसर दिने नीति बनाएपछि कार्यरत शिक्षक तथा अध्यापन अनुमति पत्र लिएर बसेका व्यक्तिहरुमा उत्साह थपिएको छ।

सर्मिला थापा 

facebook comments:

Leave a Comment