मुस्लिम धर्मावलम्बीहरुले आज आफ्नो पवित्र पर्व इद उल फित्र हर्षोल्लासपूर्वक मनाएका छन्। पवित्र महिना रमजानको अन्तिम दिन चन्द्रमा हेरेर भोलिपल्ट मनाइने यस पर्वमा मुस्लिम समुदायले नमाज पढेर तथा एकआपसमा शुभकामना आदान प्रदान गरेर मनाउने गर्छन्।
मुस्लिम क्यालेण्डर अनुसार नवौं महिनालाई रमजान भनिन्छ। यस महिनामा बालक, वृद्ध–वृद्धा, बिरामी, अशक्त, सुत्केरी तथा रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा अर्थात ब्रत अनिवार्य हुन्छ। साउन ६ गते सुरु भएको रोजा भदौ ३ गते चन्द्रमाको दर्शन गरी आज यो पर्व मनाइएको हो। सोमबार नमाज पढ्नका लागि काठमाण्डौको घण्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायको ठुलो घुइंचो लागेको थियो। व्रत समाप्तिको दिन आज मुस्लिम धर्माबलम्बीहरुले नमाज पढी आफूभन्दा ठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद लिई, एकआपसमा अंकमाल गरी शुभकामना आदानप्रदान गरे।
यस पर्वमा मुस्लिम धर्माबलम्बीहरुले नमाज पढिसकेपछी आफन्त तथा साथीभाई एकआपसमा भेट भई विशेष खानाको रुपमा गहुँबाट तयार गरिएको सेवई तथा लच्छा सामूहिक रुपमा खाने गर्दछन्। घण्टाघर छेउछाउ सेवई तथा लच्छा बेच्नेहरुको संख्या पनि ठूलै थियो। धेरै जातजाति, समुदाय र धार्मिक धर्मावलम्बी रहेको नेपाली समाजमा एक अर्काको भाषा, संस्कृति र परम्पराको समानरुपमा सम्मान रहंदै आएको छ। मुस्लिमहरुको पर्वका अवसरमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुले पनि शुभकामना आदान प्रदान गर्दै खुशी साटासाट गर्नु त्यसको उदाहरण हो। अन्य धर्मावलम्बीहरुले पनि आफ्नो पर्वको सम्मान गरी शुभकामना आदान प्रदान गर्दा सामाजिक सद्भाव बढेको मुस्लिम धर्मावलम्बीहरु बताउंछन्। नेपाल धर्म, संस्कृति र परम्परामा धनी छ। सबै जात, धर्म र समुदायका चाड पर्व, भेष भुषा तथा संस्कृतिको सम्मान, संरक्षण र सम्बर्द्धनबाट नै आपसी एकता र सद्भाव कायम रहन्छ।








There are currently no comments on मुस्लिम धर्मावलम्बीहरुले ‘इद उल फित्र’ मनाए. Perhaps you would like to add one of your own?