दक्षिण एसियाली खेलकुद भन्दा प्रतिष्ठित मानिने नेहरु कपमा सहभागिता जनाउने मौका पाएपछि अहिले नेपाली राष्ट्रिय फुटबल टोली कडा अभ्यासमा जुटेको छ। आयोजक भारतसगै, माल्दिभ्स, क्यामरुन, सिरियाजस्ता राष्ट्र सहभागी हुने प्रतियोगिताका लागि नेपाली टोली बीस दिनदेखि निरन्तर प्रशिक्षणमा छ।
सागर थापाको कप्तानीमा रहेको नेपाली टोलीले घाम र पानी केही नभनी कडा प्रशिक्षण गरेपनि उपाधिको आशा भने राखेको छैन। अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न नपाएको र फिफाको वरियाता क्रममासमेत पछाडी धकेलिइरहेको अवस्थामा भदौ ६ गतेदेखि सुरु हुने नेहरु कप प्रतियोगितालाई लिएर नेपाली टिम निकै उत्साहित पनि छ। नेपाली टोलीका मुख्य प्रशिक्षक कृष्ण थापा नेपाली टिमलाई अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट देखाउने अभियानमा लागेको बताउंछन्।
टोलीमा महत्वपूर्ण मानिने मिड फिल्डर भोला सिलवाल केही चोटका कारण अहिले कडा अभ्यासमा नलागेपनि प्रतियोगितामा भने मैदानमा उत्रने छन्। चोटकै कारण केही समयदेखि टिममा उत्कृष्ट प्रदर्शन नसकेका जुमानु राई र विजय गुरुङ पनि अहिले फिट भइसकेका छन्। जसका कारण नेपाली टोली केही आशावादी रहेको टिमका कप्तान सागर थापा बताउछन्।
दक्षिण एसियाली खेलकुद भन्दा माथिल्लो स्तरका रुपमा रहेको प्रतियोगिताबाट नयाँ कुरा सिक्ने आशा गरिरहेका बेला भरपर्दा स्ट्राइकर भरत खबासले यो प्रतियोगितालाई सुनौलो अवसरका रुपमा लिएका छन्। गत नोभेम्बरमा सोही जवहारलाल नेहरु स्टेडियममा नेपालका लागि पाकिस्तानविरुद्धको खेलमा भरतले गोल गरेयता नेपाली टोलीले अन्तर्राष्ट्रिय खेलमा गोल गरेको छैन। खवास पुनः सोही मैदानमा टोलीले गोल गर्नेमा ढुक्क छन्।
राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सहायक प्रशिक्षक हरि खड्का पनि टोलीलाई तिखार्न लागि परेका छन्। भदौ १६ सम्म चल्ने प्रतियोगितामा नेपाल सहित पांच राष्ट्रको सहभागिता रहेको छ। भारत र माल्दिभ्स नेपालका लागि परिचित प्रतिद्धन्दी भएपनि सिरिया र क्यामरुनसंग भने नेपालले अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन। भारत र माल्दिभ्ससंग कडा प्रतिस्पर्धा गरेर अंक हात पार्न सके नेपाली टोली फाइनल चरण पुग्ने सम्भावना बलियो छ। नेपालले भदौ ७ गते माल्दिभ्स, भदौ १० गते क्यामरुन, भदौ १२ गते आयोजक भारतसंग र अन्तिम खेल १४ गते सिरियासंग प्रतिस्पर्धा गर्नेछ। भोलि भारत प्रस्थान गर्ने तयारीमा रहेको नेपालको लक्ष्य कम्तीमा फाइनल चरण पुग्नु रहेको छ।
सविना कार्की









There are currently no comments on नेहरु कपकालागि नेपाली राष्ट्रिय फुटबल टोली कडा अभ्यासमा. Perhaps you would like to add one of your own?