एकीकृत माओवादीले पार्टी र लडाकु शिविरमा भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न दुई छुट्टा छुट्टै कार्यदल गठन गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टी पदाधिकारी बैठकले स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा पार्टी र सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा लडाकु शिविरमा भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न कार्यदल गठन गरेको हो।
यसअघि पूर्व लडाकुहरुले शिविरमा कमाण्डरहरुले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखेका थिए। बैठकस्थलमै हिजो लडाकुहरुले नाराबाजी गरेपछि अध्यक्ष प्रचण्डले विस्तारित बैठक आजसम्मका लागि स्थगित गर्नु भएको थियो। अध्यक्ष प्रचण्डले आजै लडाकु कमाण्डरहरुसंग छलफल पनि गर्नु भएको थियो भने बिहान स्थायी समिति र पदाधिकारी बैठक पनि बोलाउनु भएको थियो।
उता, शिविरमा अनियमितता भएको आरोप लागेपछि माओवादी सेनाका छवटा डिभिजनका कमाणंडर र सहायक कमाण्डरले एकीकृत माओवादी अध्यक्षसमक्ष राजीनामा बुझाएपनि उनीहरुको राजीनामा अस्वीकृत भएको छ। छानबिनका लागि कार्यदल गठन भएपछि राजीनामा अस्वीकृत भएको माओवादीले जनाएको छ। प्रत्येक लडाकुबाट उठाउने गरेको मासिक एक हजार तथा रासन भत्ताबापतको रकम कमाण्डरहरुले अपचलन गरेको भन्दै लडाकुहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
पार्टीले दुई छुट्टा छुट्टै कार्यदल गठन गरेपछि विस्तारित बैठक सुरु भएको छ। यसैबीच, बैठकस्थलमा गरिएको प्रवेशसम्बन्धी प्रक्रियालाई लिएर केही बेर बैठकस्थलमा नाराबाजी भएको छ। थारुवान, मिथिला र भोजपुरा राज्य समितिका प्रतिनिधिहरुले प्रवेशसम्बन्धी प्रक्रियामा असहमति जनाउंदै नाराबाजी गरेका थिए। नाराबाजीपछि केही सदस्यहरु प्रवेश गरेपनि केही सदस्य भने बाहिरै बसेका थिए।








There are currently no comments on छवटा डिभिजनका कमाण्डर र सहायक कमाण्डरद्वारा एकीकृत माओवादी अध्यक्षसमक्ष राजीनामा. Perhaps you would like to add one of your own?