एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको जस्तै राजनीतिक गम्भीरता अन्य दलका नेतामा नहुंदा राजनीतिक निकास प्राप्त हुन नसकेको बताएका छन्। आफ्ना प्रायजसो मन्तव्यमा स्वर्गीय नेता कोइरालालाई सम्झने गरेका माओवादी अध्यक्ष प्रचण्डले सद्भावना पार्टीले आयोजना गरेको अन्तर्क्रियामा कोइरालाको स्मरण मात्रै गरेनन्, अन्य दलहरुले बाह्र बुंदे सहमतिको मर्मअनुरुप परिवर्तनलाई आत्मसात गर्न सके राजनीतिक निकास टाढा नरहेको पनि दावी गरे।
०६२/०६३ सालको जनआन्दोलनका मियो तथा शान्ति सम्झौताका एकजना हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शान्ति सम्झौताकै अर्का हस्ताक्षरकर्ता माओवादी अध्यक्ष प्रचण्डले आफ्ना प्रायजसो मन्तव्यमा सम्झने गर्दछन्। कोइरालासंग भारतको नयां दिल्लीमा ०६२ सालमा गोप्य वार्ता गरेपछि माओवादी बहुदलीय प्रतिस्पर्धासहितको राजनीतिमा आउन तथा नेपाली कांग्रेस निरकुंश राजतन्त्रको अन्त्य गर्न सहमत भएका थिए।
त्यही छलफलले केही समयमै १२ बुंदे सहमतिको रुप लिएको थियो। १२ बुंदे सहमतिले दलहरुलाई संविधानसभासम्म ल्याएको थियो। संविधानसभापछि १२ बुंदे सहमतिको औचित्यबारे कतिपय वृत्तबाट प्रश्न उठ्न थालेको सर्न्दभमा माओवादी अध्यक्ष प्रचण्डले १२ बुंदेको बचाउ गर्दै अन्य नेताहरुमा स्वर्गीय कोइरालाको जस्तै संवेदनशीलता आवश्यक रहेको बताए।
अध्यक्ष प्रचण्डले संविधान र राज्यपुर्नसंरचनाका विषयमा दलहरुका बीचमा सहमति आवश्यक रहेकोमा जोड दिए। बैशाख तेस्रो साता दलहरुका बीचमा भएको पांच बुंदे सहमतिका आधारमा राजनीतिक निकास खोज्नुपर्नेमा उनको जोड थियो। पांच बुंदेमा संविधानका विवादित विषयमा सहमति गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने तथा संविधान जारी गरी व्यवस्थापिका संसदको निर्वाचन गर्ने उल्लेख छ। अहिलेको राजनीतिक गतिरोध परिवर्तनकामी र यथास्थितिवादीहरुको टकरावका कारण उत्पन्न भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पहिचानसहितको संघीयता पक्षधर र परिवर्तनकामीहरुको बृहत संघीय मोर्चा बनाउनुपर्नेमा जोड दिए।
नारायण










There are currently no comments on प्रचण्ड उद्घोष. Perhaps you would like to add one of your own?