त्रिभुवन विश्वविद्यँलयले आज आफ्नो ३७ औं दीक्षान्त समारोह

Written by admin. Posted in विविध, विशेष

Published on July 08, 2012 with

दीक्षान्त समारोहका बेला सबैले विश्वविद्यालयको सुधार र व्यावहारिक शिक्षाको चर्चा गर्छन्,। आइतबार आयोजित देशकै जेठो त्रिभुवन विश्वविद्यालयको ३७ औं दीक्षान्त समारोहमा पनि सबैले यस्तै भने। विश्वविद्यालयको सुधार र व्यावहारिक शिक्षाको बारेमा चर्चा हुन थालेको यो नै पहिलो पटक भने होइन। तर, विश्वविद्यालयको अवस्था जस्ताको तस्तै छ।

आइतबारमात्रै ३ हजार ६ सय १४ जना विद्यार्थी त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भए। जसमध्ये २९ जना विद्यावारिधी प्राप्त नै थिए। दीक्षित विद्यार्थीहरुको अनुहारमा खुसी त झल्कन्थ्यो नै, संगसंगै भविष्यको चिन्ता पनि। विभिन्न विषयमा सर्वोत्कृष्ट विद्यार्थीहरु सम्मानित पनि भए। तरपनि त्रिभुवन विश्वविद्यालयको अव्यवस्था र कमजोर शैक्षिक प्रणालीको चर्चा रोकिएन। प्रमुख अतिथिका रुपमा उपस्थित राष्ट्रकवि माधव घिमिरे र कुलपति एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत सहभागी समारोहमा स्वागत मन्तव्यमै त्रिविका उपकुलपति प्रा.डा.हीराबहादुर महर्जनले समयसापेक्ष विश्वविद्यालय अघि बढ्न नसकेको स्वीकार गरे। जसको प्रमुख कारण उनले राजनीतिक हस्तक्षेप रहेको बताए। उनी स्वंय विवादित राजनीतिक नियुक्तिपछि उपकुलपति भएका थिए, र पनि उनैले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरे।

समारोहमा सहभागी सह कुलपति एवं शिक्षामन्त्री दीनानाथ शर्माले पनि सबैभन्दा ठूलो विश्वविद्यालय भएर पनि क्यालेण्डर नियमित नभएकोमा गुनासो गरे। संकीर्ण राजनीतिक हस्तक्षेप विरोध गरेका शिक्षामन्त्री स्वंयले त्रिभुवन विश्वविद्यालय अव्यवस्थाहरुले भरिएको स्वीकारोक्ति दिए।

२०१५ सालमा स्थापित त्रिभुवन विश्वविद्यालयबाट हालसम्म लाखौं विद्यार्थीहरु दीक्षित भइसकेका छन्। त्रिविको गुणस्तर जति नै खस्किंदा पनि यसले वर्षेनी हजारौं शिक्षित जनशक्ति उत्पादन गरिरहेको छ। तर, तिनै जनशक्ति देशभित्रै बेरोजगार बन्नुपरेकोतर्फ न विश्वविद्यालय चिन्तित छ, न त सरकार नै। कुलपति एवं प्रधानमन्त्री डा.भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई बेरोजगारहरु उत्पादन गर्ने कारखाना बनाउन नहुने त बताए, तर त्यसको उपाय बताएनन्।

प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेको मन्तव्य अत्यन्तै भावुक रह्यो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ९३ वर्षीय राष्ट्रकविले देशमा ९ वटा विश्वविद्यालय हुंदा पनि शिक्षाको समान वितरण हुन नसकेकोमा दुःख व्यक्त गरे। दीक्षित सबै विद्यार्थीलाई राष्ट्रकवि घिमिरेले विश्वविद्यालयबाट प्राप्त ज्ञानको भरमा मात्रै नपरी स्वअध्ययनबाट आफ्नो र राष्ट्रको जीवनमा नयंा आयाम थप्न आग्रह गरे।

यसरी, फेरि एकपटक केही विद्यार्थीहरुलाई दीक्षित गराएर, केही व्यक्तिहरुका विश्वविद्यालय प्रतिका गुनासोहरु व्यक्त गराएर ३७ औं दीक्षान्त समारोह सकियो। बोल्नेहरुले त बोलिदिए सकियो, गार्‍हो त तिनै विद्यार्थीलाई छ जो दीक्षित भए, तर देशमा पर्याप्त अवसर मौलाएको छैन। वर्षौं पढेर मेहेनतको फल लिन पुगेका विद्यार्थीहरु गुनासो गर्दैथिए, कार्यक्रम स्थलमा प्रहरीले दुर्व्यवहार गरेको भनेर। किनकी कालोझण्डा देखिने डरले विद्वान प्रधानमन्त्री तिनै दीक्षित विद्यार्थीहरुको झोला चेक गराएर कालो रङ्का रुमाल र माक्स खोसेर कार्यक्रममा पुगेका थिए। प्रधानमन्त्रीले ख्याल गरेनन् की सबै विद्यार्थी कालै गाउनमा थिए।

नकुल 

facebook comments:

Leave a Comment