सायद : धरानमा कलेक्सनको नयाँ रेकर्ड

Written by admin. Posted in मनोरञ्जन

Published on June 11, 2012 with

धरानको गणेश टाकिजमा यसअघि फिल्म चपली हाइटले बनाएको सर्वाधिक सिंगल डे कलेक्सनको रेकर्डलाई तोडदै फिल्म सायदले कलेक्सनको नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट उपत्यका बाहिरका हलहरु मार्फत प्रदर्शनमा आएको सायदले पुर्वका हलमा उत्साहजनक ओपनिंग गर्न सफल भएको छ ।

चपली हाइटले फिल्म प्रदर्शन भएको दोस्रो दिन अर्थात शनिबार १ लाख १० हजार माथि ग्रस कलेक्सन गरेको थियो तर सायदले पनि रिलिज भएको पहिलो शनिबार गणेश टाकिजमा १ लाख तीस हजार माथि कलेक्सन गर्न सफल भएको छ । यो कलेक्सन हल संचालन भए यताकै सबै भन्दा धेरै रहेको हलका प्रबन्ध निर्देशक रञ्जिब श्रेष्ठले जानकारी गराए । फिल्मले ४ सो गरेर त्यति रकम कलेक्सन गरेको हो ।

प्रत्येक सो सुरु हुन तीस मिनेट अगाबै हल हाउसफुल भएको थियो । हलमा धेरै पछि फिल्मको टिकट ब्ल्याकमा बिक्री भएको देख्न पाईएको थियो भने टिकट काट्ने क्रममा तछाडमछाड हुदा केहि दर्शक घाइते समेत हुन पुगेका थिए । यस्तो उपस्थिती धेरै समय पश्चात देख्न पाएको हलमा कार्यरत कर्मचारीको कथन थियो । लागु पदार्थ दुर्व्यसनी र युवायुवतीको कथालाई आधार मानेर निर्माण गरिएको फिल्म हेरेपछि अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

भूतपूर्व ब्रिटिश लाहुरे समेत रहेका धरान १९ का भक्तमान लिम्बुले आफ्नै घरमा घटेको कथा फिल्म मार्फत हेर्न पाएको प्रतिक्रिया दिए । त्यस्तै इटहरीबाट फिल्म हेर्न आएकी रश्मी राईले आफुलाई फिल्मको क्लाईमेक्सले भावुक बनाएको बताईन । त्यसो त धरानमै घर भएका निर्देशक सुरज सुब्बाको कामलाई समेत धराने दर्शकले तारिफ गरे ।

फिल्मले बिर्तामोडको कृष्ण टाकिजमा समेत आज ८० हजार माथि कलेक्सन गरेको छ । बिराटचोकको सुकुना चित्र मन्दिर, झुम्काको किरण टाकिज लगायतका हलमा समेत सायदको कलेक्सन उत्साहप्रद रहेको वितरक संजु पराजुलीले जानकारी गराएका छन् । दमकको निलकण्ठ चित्र मन्दिर र बिराटनगरको हिमालयन टाकिजमा मंगलबारबाट फिल्म प्रदर्शनमा आउने छ ।

साभार :  फिल्मी खबर, अर्पण ढकाल

facebook comments:

Leave a Comment