
जहां भक्त रहन्छ, त्यहां मन्दिरको महत्व हुन्छ। जहां मन्दिर रहन्छ, त्यहां भक्त रहनुको अर्थ हुन्छ। मन्दिर विनाको भक्त र भक्त विनाको मन्दिर, यी दुबैको कुनै अर्थ नै रहंदैन। काठमाडौंको सुन्धारा स्थित जगन्नाथ मन्दिर यस्तै पीडामा छ। भक्त नहुनुको पीडा संगै दायांबायांबाट मन्दिर चेपिदै गएपछि सो मन्दिरको अस्तित्व नै हराएको छ।
सुनधारा क्षेत्र सम्भवतः काठमाडौं कै सबैभन्दा बढी चहलपहल हुने स्थान। मान्छेहरुको भीड हुने भएकै कारण भक्तजनको आशाले होला जगन्नाथ बाबाको यो मन्दिर यसै क्षेत्रमा बनाइएको। यो मन्दिरको महत्व त नेपालमा मात्रै होइन, अझ बढी भारतमा छ।
हो, जगन्नाथ बाबाको हरेक मन्दिरहरुमा भक्तजनहरुको भीड हुन्छ। तर, यहां त्यस्तो भीड हुंदैन। नित्यपुजा गर्ने मुख्य समयमा पनि केवल पुजारी मात्रै भेटिन्छ। जगन्नाथ मन्दिरमा केवल पुजारी मात्रै रहेछन्। उनीपनि १५ मिनेटको लागि मात्रै। दिनभरि बसेको भए मन्दिरमा भक्तजन कति आउंथ्यो थाहा हुन्थ्यो होला। तर, उनी त बस्दैनन्। मन्दिरको यस्तो हालत हुनुको पछाडि अर्को एउटा कारण छ– मन्दिर आएका भक्तजनलाई मन्दिर परिसर परिक्रमा गर्न दिइदैन। संगै रहेको केन्द्रिय कारागारको सुरक्षाका कारण यस्तो बन्देज लगाइएको हो।
मन्दिर आएका भक्तजनलाई मन्दिर परिसर परिक्रमा गर्न नदिएपछि यस्तो मन्दिरमा को आउने? कस्तो आचार नियम हो– मन्दिरमा भक्तजनलाई परिक्रममा गर्न नदिने? भक्तजन बसेर भजन गाउंने मन्दिरको प्रांगण संगै रहेको टेलिकमको पार्किङ स्थल बनेको छ। अब त मन्दिरकै जग्गामा टेलिकमले जेनेरेटर राख्ने व्यवस्थित ठाउं पनि बनाउंदैछ।
मन्दिरकै जग्गामा कारागारको भवन बनेको छ । पुजारी मिश्रले खुलेर नबोलेपनि अफ दी रेकर्डमा हामीलाई जानकारी गराए– जेल सर्यो भने गुठीलाई पुनः जग्गा दिने कागज भएको छ। मन्दिरको पछाडि खानेपानीको कार्यालयले यसैगरि चेप्दैछ– मन्दिरको जग्गा। तर, मन्दिरले अस्तीत्व गुमाउंदै गर्दा चुपचाप छ गुठी संस्थान र पुरातत्व विभाग।









There are currently no comments on मन्दिरले अस्तीत्व गुमाउंदै गर्दा चुपचाप छ गुठी संस्थान र पुरातत्व विभाग. Perhaps you would like to add one of your own?