नेपालमा लामो राजनीतिक संघर्षपछि गणतन्त्र आएपनि गणतन्त्रलाई संस्थागत गर्ने चुनौती अझ पनि बाँकी रहेको राष्ट्रपती डाक्टर रामवरण यादवले बताएका छन्। शुक्रबार सुनसरीको धरानमा आयोजित सार्कस्तरीय रेडियोलोजि चिकित्सकहरुको सातौं सम्मेलनको उद्घाटन समारोहमा बोल्दै यादवले शान्ती प्रक्रिया र गणतन्त्र संस्थागत गर्ने चुनौती रहेको जनाउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। पटक पटक प्रजातन्त्रको लागि लडाइ लडेका नेपालीहरुकै सक्रियतामा गणतन्त्र संस्थागत हुने बताउँदै आर्थिक स्थायित्व र विकासको लागि पनि शान्ती प्रक्रियालाई टुंगोमा पुर्याउँदै गणतन्त्र संस्थागत गर्नुपर्ने उनको जोड थियो।
चिकित्सकहरुले पैसाको पछि कम कुद्ने र बिरामीको सेवामा बढी ध्यान दिनुपर्छ भन्दै उनले समाजको लागि केही गर्न सकेमा चिकित्सकहरुले जनताको स्याबासी पाउने र सन्तुष्टी मिल्ने समेत सुझाव दिए। चिकित्सा पेसा आफ्नो ठाउँमा राखेर जनताको सेवा र गणतन्त्रको स्थायित्वको लागि लाग्न सम्मेलनमा सहभागि सार्कस्तरीय चिकित्सकहरुसँग समेत आग्रह गरे। समारोहमा बोल्दै डाक्टर यादवले गोर्खालीले विश्वमा शान्ती स्थापनाका लागि गरेको योगदानको समेत सम्झना गरेका थिए भने जलविद्युत्, पर्यटन, वन्यजन्तुलगायतका सम्पदाको प्रयोगबाट विकासको ढोका खोल्न सकिने समेत बताए।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आयोजित समारोहमा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले समेत शान्ती प्रक्रिया पुरा गर्नको लागि नेपालीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा रेडियोलोजिकल सोसाइटी अफ सार्कको आठौं अध्यक्षको रुपमा पाकिस्तानका हमिद अक्रमलाई सातौं अध्यक्ष नेपालका आरके रौनियारले पद हस्तान्तरण गरेका थिए। कार्यक्रममा रौनियारकै सम्पादन छापिएको पहिलो नेपाली रेडियोलोजि विषयको पत्रिका समेत विमोचन गरिएको थियो। १९ गतेसम्म चल्ने सम्मेलनमा सार्कस्तरीय नयाँ प्रविधिहरुको स्टल समेत राखिएको छ।









There are currently no comments on गणतन्त्रलाई संस्थागत गर्ने चुनौती अझ पनि बाँकी रहेको राष्ट्रपती डाक्टर रामवरण यादवको भनाई. Perhaps you would like to add one of your own?