शान्तिप्रत्र्किया र संविधान निर्माणलाई टुंगोमा पुर्याउन प्रमुख दलहरुबीच भएको सात बुंदे सहमतिलाई कार्यान्वयन गर्दै र मंसिर सात गतेसम्म शान्तिप्रक्रियाका सम्पूर्ण निर्धारित काम पूरा गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले सहमतिलाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले शान्तिप्रक्रियासंग सम्बन्धित लडाकूको पुनर्बर्गीकरण लगायतका काम मंसिर सात भित्रै पूरा गर्ने पूर्वनिर्धारित कार्यतालिका अनुसार काम अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताए।
शीर्ष नेताहरुले पूर्व निर्धारित कार्यतालिका अनुसार शान्तिप्रक्रियाको काम पूरा गर्ने बताएपनि बैठकमै सहभागी माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधर नेताहरुले भने आफूहरुको असहमति कायमै रहेको बताएका थिए। बैठकमा सहभागी माओवादी महासचिव रामबहादुर थापाले आफूहरुको असहमति यथावत रहेको जानकारी दिनुभयो। त्यस्तै, बैठकमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णयका बारेमा समेत छलफल भएको थियो।
तर, सरकारको उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको र त्यसमा अदालतले अर्को आदेश जारी गरिसकेकाले अदालतको आदेशलाई पर्खने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ। शीर्ष नेताहरुको बैठकमा एकीकृत नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई , उपाध्यक्ष मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा र सचिव सिपी गजुरेल सहभागी हुनुहुन्थ्यो भने कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेताहरु अर्जुननरसिंह केसी र डाक्टर रामशरण महतको सहभागिता थियो। त्यस्तै एमालेबाट बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष अशोक राई, महाससचिव ईश्वर पोखरेल र नेता भीम रावल सहभागी हुनुहुन्थ्यो।










There are currently no comments on मंसिर ७ गतेसम्म शान्तिप्रक्रिया काम पूरा गर्न नेताहरुद्धारा प्रतिवद्धता व्यक्त. Perhaps you would like to add one of your own?