नाटवेस्ट क्रिकेट श्रृंखलाका पाँच तथा अन्तिम खेलमा श्रीलंकालाई सोह्र रनले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले नाटवेस्ट सिरिज जितेको छ। गए राति वर्ल्ड ट्रयाफोर्डमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले निर्धारित पचास ओभरमा नौ विकेट गुमाएर दुई सय अरसठ्ठी रन बनाएको थियो। इंग्ल्याण्डको शुरुवात निकै सशक्त रह्यो। बाह्र ओभरमा पचासी रनको स्थितीमा इंग्ल्याण्डले एक्तीस रनमै एलिस्टर कुकलाई गुमाएको थियो। इंग्ल्याण्डका लागि जोनाथन ट्रट बहत्तर र इयान मोर्गनले सन्ताउन्न रन बनाएका थिए। ट्रट र मोर्गनले चौथो विकेटका लागि एक सय अठार रनको साझेदारी गरेका थिए। छत्तीस ओभरमा दुई सय तेह्र रन बनाएको इंग्ल्याण्डको अन्त्य भने त्यति राम्रो हुन सकेन।
पछिल्लो पाँच विकेट तेत्तीस रनमा गुमेको थियो। श्रीलंकाका लागि सुरज रनद्वीपले बयालिस रन खर्चेर पांच विकेट लिए। दुई सय उनन्सत्तरी रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाका शुरुवात त्यति राम्रो हुन सकेन। उनन्तीस रनमा श्रीलंकाले तीन विकेट गुमाएको थियो। त्यसपछि कुमार सांङ्गाकारा र दिनेश चन्दिमलले चौरानब्बे रनको साझेदारी गर्दै खेललाई अघि बढाएका थिए। चन्दिमलले चौवन्न रन बनाए। एक सय एकत्तिसमा पाँचौ विकेटको रुपमा कुमार साङ्गाकार आउट भएपछि खेल इंग्ल्याण्डले सहजै जित्ने अनुमान गरिएको थियो। तर छैठौ विकेटका लागि एनगेला म्याथुज र जीवन मेन्डिसले एक सय दुई रनको साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। म्याथुजले बैसठ्ठी र मेन्डिसले अड्चालिस रन बनाएका थिए। खेलमा आठ बल बाँकी छदै श्रीलंका दुई सय बाउन्न रनमा अल आउट भएको थियो।










There are currently no comments on इंग्ल्याण्डले श्रीलंकालाई सोह्र रनले पराजित. Perhaps you would like to add one of your own?