Breaking News

भरतपुर, १९ मा कांग्रेस-माओवादी चुनावी तयारीमा, एमाले सडकमै

चितवन, २२ जेठ । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारुढ कांग्रेस-माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन् । एमालेले भने विरोध अभियान जारी राखेको छ ।

मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो । वडा नं. १९ को मतगणना भइरहँदा जेठ १४ गते आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । माओवादी केन्द्रका प्रतिनिधिले हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यातेको भन्दै गणना नरोक्न मागसहित एमालेले सोमबारदेखि दबाबमूलक अभियान सुरु गरेको थियो ।

एमालेले मतगणनास्थल भरतपुर कभर्ड हल नजिकै धर्ना दिँदै आएको थियो । आयोगको निर्णय आएपछि शनिबार एमालेले धर्ना कार्यक्रम रोकेर साँझ मसाल जुलुस निकाल्यो । आइतबार मध्याह्न भरतपुरदेखि नारायणगढसम्म विरोध जुलुस प्रदर्शन गर्‍यो। चौबीस कोठीबाट सुरु भएको जुलुस पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले आयोगले आफ्नो कुरा नसुने पनि सर्वोच्च अदालतबाट न्याय पाउने बताए । मतदान सुरु गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट परे पनि सत्तारुढ दलले चुनावको तयारी सुरु गरेका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त बैठकले वडा नं. १९ को वडा अध्यक्षसहितका सबै पदमा माओवादीले कांग्रेसलाई मत हाल्ने सहमति गरेको छ ।

त्यस्तै कांग्रेसका सबै मतदातालाई प्रमुख पदमा माओवादी उम्मेदवार रेणु दाहाललाई मत हाल्ने वातावरण बनाउन थप सक्रिय हुने सहमति बैठकले गरेको छ । मेयर पदमा कांग्रेस माओवादीबीच सहमति भए पनि कांग्रेसका सबै मतदाताले दाहाललाई मत दिएको अवस्था थिएन । याे खबर नागरिक दैनिकमा छ ।

shares