Breaking News

एनसेलले थप १३ अर्ब ६० करोड लाभकर बुझायो

काठमाण्डौ, २२ जेठ । पूँजीगत लाभकर नतिर्ने अडानमा अडिग रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ थप रकम दाखिला गरेको छ ।

ठूला करदाता कार्यालयका अनुसार आइतबार पुँजीगत लाभकरको २५ प्रतिशत मध्येको १५ प्रतिशतभित्र नै रकम थप हुने गरी १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । यसअघि यही प्रतिशत (२५ को १५) शीर्षकमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ बुझाइसकेको छ।

‘लाभ हुने पक्षबाट अग्रिम कर कट्टा गरी बुझाउनुपर्ने दायित्व अन्तर्गतको १५ प्रतिशत रकम थप बुझाएको हो,’ कार्यालय स्रोतले पुष्टि गर्दै भन्यो, ‘बाँकी १० प्रतिशतको रकम भने नबुझाउने अडानमा कम्पनी छ । तर अब हामी कर निर्धारण चाँडै गर्छौं ।’ आयकर ऐनले विदेशी लगानीकर्तालाई कारोबारमा लाभ भएको रकममा २५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ ।

२५ मध्ये १५ प्रतिशत रकम दाखिला गरिदिनुपर्ने दायित्व सम्बन्धीत कम्पनीको हो । बाँकी १० प्रतिशत रकम बिक्रेताले कम्पनी टेलियासोनेराले बुझाउनुपर्ने अडानमा एनसेल छ ।  टेलियासाेनेरा भने नेपालको कानुनले उक्त व्यवस्था स्पष्ट नगरेको भन्दै उक्त रकम नतिर्ने  जनाको छ ।

तर, ५० प्रतिशतभन्दा बढी स्वामित्व हस्तान्तरण भएपछि कर बुझाउने दायित्व सम्बन्धीत कम्पनीकै हुने कर कानुन निर्माणमा संलग्न अधिकारीले बताउँदै आएका छन् । यिनै अधारलाई लिँदै एनसेलले कर बुझाउन अटेर गर्दै आएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

shares